2078-05-16
2078-05-16
वैदेशिक रोजगार ऐन, २०६४ मा संशोधन भै वैदेशिक रोजगारीका सम्बन्धमा भएका कुनै पनि किसिमका उजूरीहरु जिल्लास्थित प्रमुख जिल्ला अधिकारी समक्ष दिन सकिने व्यवस्था गरेको छ । अतः वैदेशिक रोजगारीका सम्बन्धमा कुनै किसिमका उजुरी तथा गुनासाहरु भए लिखितरुपमा निवेदन वा इमेल वा फेसबुक पेजमा पठाउन वा हुलाकबाट पठाउन सक्नु हुनेछ । उक्त ऐनमा भएको दफा २१ क. को उजुरी दिन सकिने भन्ने प्रावधान यस प्रकार रहेको छ:
(१) यस ऐन बमोजिम उजुरी गर्न सकिने विषयमा हुलाक वा विद्युतीय माध्यमबाट समेत उजुरी गर्न सकिनेछ र त्यसरी प्राप्त भएको उजुरी विभाग वा कार्यालयले दर्ता गरी कारवाही गर्नु पर्नेछ ।
(२) यस ऐन बमोजिम विभाग समक्ष उजुरी गर्न सकिने विषयमा सम्बन्धित जिल्लास्थित प्रमुख जिल्ला अधिकारी समक्ष समेत उजुरी दिन सकिनेछ ।
(३) उपदफा (२) बमोजिम प्रमुख जिल्ला अधिकारी समक्ष परेको उजुरी इजाजतपत्र प्राप्त संस्था उपर परेकोमा सात दिनभित्र सो उजुरी विभागमा पठाउनु पर्नेछ ।
(४) उपदफा (२) बमोजिम कुनै व्यक्ति उपर परेको उजुरी सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले जाचँबुझ गरी कामदार वा निजको प्रतिनिधिलाई क्षतिपूर्ति भराई दिनु पर्ने देखिएमा दुबै पक्षबीच छलफल गराई क्षतिपूर्ति भराईदिने गरी मेलमिलाप गराउन सक्नेछ र त्यसरी मेलमिलाप गराएको जानकारी विभागलाई दिनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम मेलमिलाप हुन नसकेको अवस्थामा वा उजुरीको प्रकृतिबाटै मेलमिलाप गराउन मिल्ने नदेखिएमा प्रमुख जिल्ला अधिकारीले सक्कलै उजुरी आवश्यक कारबाहीको लागि विभागमा पठाउनु पर्नेछ ।
© All Rights Reserved to District Administration Office, Morang .